व्यक्तिगत बौद्धिकता र रचनाको एउटा सानो डायरीमा तपाईलाई स्वागत गर्दछु | ©Er. Prakash Thapa

Monday, October 17, 2022

अलबिदा हजुरआमा


 
अरु दिनमा जस्तै २०७९/०४/१९ गते साँझ पनि सबैजसो कामहरु सकाएर एकछिन् Youtube मा  भिडियो हेर्ने  तयारी गर्दै थियौँ | समय साँझको ९:५० तिर थियो घरबाट मम्मीले फोन गरेर  हजुरआमा  थप बिमार हुनुभएकोले  बुबा पहिले नै गइसक्नुभयो  मपनि  तम्घास  जाने तयारी गर्दैछु भनेर  जानकारी गराउनुभयो  लगत्तै  कान्छो बुवालाई फोन लगाए  उहाँको फोन उठेन


अनि बुबालाई फोन लगाए  बुबाको फोन  संजय  भाइले उठायो | फोनको आवाजले  कुनै अप्रिय घटना भएको  अनुमान लगाउन  मलाई गाह्रो परेन त्यही पनि मैले  संजय के भयो भनेर सोधे, जवाफ  हजुरआमा बित्नुभयो भन्ने आयो | आफै स्तब्ध अनी एकाएक मलिन भए


करिब दुई हप्ता अगाडि जसो फोनमा कुरा हुँदाको हजुरआमाको आवाज सम्झिए | उहाँले गर्नुभएको  कुराहरू  सम्झिए | ८६ वर्षको उमेरमा पनि उहाँले देखाउनुभएको आत्मबल अनि  एक किसिमको भरोसा जो सधै दर्शाउनु हुन्थ्योएकैसाथ  मेरो मानसपटलमा गुन्जियो


अन्तिम पटक हामीबीच फोनमा कुराकानी हुँदै गर्दा  हजुरआमाले  कहिल्यै पनि नभनेको कुरा  भन्नुभएको थियो - छोरातिरको  नातिहरुबाट पलाती/पलातिनिहरु  देख्न पाइएन | उहाँको यस कुराले  मलाई  भित्र सम्म छोएको थियो | जबकी त्यो भन्दा पहिले कहिल्यै पनि यो बिषयमा सिधा कुरा गर्नु भएको थिएन तर त्यो भाब भने बेला बेला प्रकट गर्नु हुन्थ्यो |


यसपछि दुई-दुई पटक फोनमा कुरा गर्ने मेरो प्रयास सफल हुन सकेको थिएन | त्यहि सम्बादसहितको कुराकानी नै मेरो अन्तिम कुराकानी भयो हजुरामासंग अप्रिय समाचार कानमा  सुन्नेबित्तिकै मलाई  यहीं कुराले बढी झस्क्याई रह्यो सायद सुन्यतामा हराउँदै गर्दा मलाई विश्वास नै भएन  हजुर आमा बित्नुभएको कुरा

श्रीमती-मनिषा , बहिनि- करिश्मा, भाई- कश्यप र म त्यसै दिन हजुरआमाको अन्तिम  श्रद्धांजलिमा सहभागी हुन  काठमाडौंबाट  गुल्मी तर्फको  यात्रा तय गर्यौ


कलंकीबाट  काठमाडौ छोड्दै गर्दा  रातको १२ बजेको थियो सायद | कलंकी पुगेर  भाइ बहिनी सँग भेट हुँदा  बहिनी-करिश्मा गाडीमा साक्क-सुक्क गर्न लागि, मेरो मन आफै थामिएको थिएन  उसलाई सम्झाउने  कुनै उपयुक्त  शब्द मैले  भेटिन सायद त्यसैले आफु चुप बसिरहे |   आफै बिस्तारै शान्त हुँदै  गई


रातभरको आकाशे पानीले मुग्लिन नारायणगढ सडकखण्डमा पहिरोले गर्दा सडक अवरुद्ध भएकोले हामी पोखरा तर्फबाट  हाम्रो यात्रा  जारी राख्यौ | पोखरा पुग्दा  बिहानको करिब ६ बजेको थियो | करिब साढे ७  बजे  बिहान  हजुरआमाको  पार्थिव  शरीर सहित सबैजना  रिडी-घाट पुगिसक्नु भएको थियो | हामीहरु करीब दस बजे पुग्यौ  


रातभरको यात्रामा मलाई मात्र हजुरआमाको  माया, हजुरआमाले परिवारलाई देखाउने गरेको मार्गदर्शन, खेतिपातीमा अहोरात्र गरेको मेहनत र परिश्रम, हाम्रो परिवारलाई  पारिवारिक  परिवन्धमा बाँधेर राख्ने  उहाँको कलाहामी सानो छँदा हामीहरूको इच्छाअनुसार  आफै बुझेर  हामीहरुलाई  जुन तरिकाले  पोषण पान गराउनु हुन्थ्यो  मलाई  उहाँको त्यो कला देखेर  बिछट्टै खालको अनुभूति आउँथ्यो | आदि इत्यादि कुराहरु मानसपटलमा दोहोरि रहेको थियो |


उहाँको काम गर्ने  सैलीकामप्रतिको लगाव, पाक कला र भोजन शैली अरुकोभन्दा भिन्दै थियो | जस्तो सुकै असमझदारीमा पनि जो कोहि संग शालीनतासाथ प्रकट हुने उहाको बानीले होला सायद हाम्रो पुरा परिवारको सदस्यहरुमा पनि एक किसिमको शान्त स्वभाव देखिन्छ


उहाँले परिवारमा स्थापित गराउनु भएको  एक किसिमको आस्था चाहे त्यो धार्मिक होस् या खानदानी सैली, हामीहरुले जीवन्त राख्नुपर्ने  विशेष छ | हाम्रो   खानदानमा आजसम्म कसैले पनि अभाव भन्ने कुरा सहन गर्नु परेको छैन  र पनि  हजुरआमाले  गरीब-दुःखीहरु  प्रति जुन प्रकारको सहयोग र  सद्भाव प्रकट गर्नु हुन्थ्यो त्यसले आउँदा पिंडीहरुलाई पनि एक किसिमको संस्कार स्थापित  गराउनुभएको छ


समाजमा खुलेर प्रस्तुत नभएपनि  उहाँले दर्शाउन हुने ससाना विषयवस्तुहरु प्रतिको  चासोले उहाँको सामाजिक भावना प्रष्ट देखिन्थ्यो | हजुरआमाको सामाजिक गतिबिधिहरुको चासोको प्रभाबले म आफैमा पनि एक किसिमको सामाजिक चेतना उत्पन्न भएको छ | आदि  इत्यादि कुराहरु यात्रा भर मेरो दिमागमा  गुन्जिरहेको थियो


रिडी-घाटमा नपुगुन्जेल मेरो दिमागमा हजुरआमाको माया, उहाले गर्नु भएको सत्कर्म र उहाँले देखाउनुभएको  मार्गदर्शन  मात्र एकपछि अर्को गर्दै  गुन्जिरहेको थियो  


मलाई कल्पना समेत भएन कि  हजुरआमाको  पार्थिव शरिरले मात्र हाम्रो आन्तिम श्रद्धांजलिको पर्खाइमा हुनुहुन्छ भनेर | जब गाडीबाट ओर्लेर  हजुरआमाको पार्थिव शरिर राखिएको  स्थान तर्फ  आफूलाई अघि बढाए मन  आफैंमा गह्रौ  भएर आयो |


खोली किनारमा सुताएर दाउरा सँगै छोपिएको अनुहार कसैले खोलिदिने  बित्तिकै मैले मन थाम्न सकिन | मनलाई सम्हाल्न खोज्दै हजुरआमा प्रती श्रद्धांजलि प्रकट गरे


तिन बुवाहरु र हामी  तिन नातिहरु म, रोहित र कस्यपले हजुर आमाको शरीरलाई उठाएर दाउरा माथि राख्यौ | यो समयमा बुवाहरुलाई धेरै नै गाह्रो भएको थियो


करिब तिन घन्टामा घाटको सबै काम सकाएर सबै मलामीहरु खाना खाएर तम्घास कान्छो बुवाको घरमा फर्कीयौ | जहा हजुरआमाले प्राण त्याग गर्नु भएको थियो


घरमा प्रवेश गर्नासाथ  मलाई हजुरआमाको  अभाव महसुस भयो, हजुरआमा बस्नुहुने कोठा तर्फ अगाडि बढ्नै  सकिन, मन भरिएर आयो  आफुलाई सम्हाल्नै सकिन |  


बुवाहरु कुना बस्नु भयो | मम्मी, म र मनिषा त्यो दिन बास बस्न हाम्रो घर झिर्बास आयौ | दोस्रो दिन बिहानै  सबैजना तम्घास फर्कियौ शोकमा डुबेका परिवारका सबै सदस्यहरु   बिक्षिप्त थियौं


सबैले मन सम्हाली रहँदापनि हजुरबुवाले  आफूलाई  शान्त पार्न सकिरहनु भएको थिएन | १३ औं दिनको पुण्य तिथिमा पनि  हजुरबुवाले  आफूलाई  रोगसँगै शोक पनि थपियो  भन्ने खालको  दुखेसो  सबैजनालाई पोख्नुभयो घरमा  समवेदना प्रकट गर्ने  आफन्त इष्टमित्र  छर-छिमेकको  आवतजावत  चलिरहदा एक किसिमको सहानुभूति महसुस भयो |


दोस्रो दिनको राति  फुपु दिदीहरु  पलङमा सुत्न नहुने भएकोले सिटिङ रुमको  भुईमा  बिस्तारा  बनाएर सुत्नुभयो हामीहरु  पलङमा सुत्यौं | दिदीहरु  बत्ती निभाई सकेपछि  साक्क-सुक्क गर्दै रुदै गरेको आवाज  सुन्दै गर्दा  मबाट  उहाँहरु प्रति  कुनै  शब्दहरु निकाल्न  सकिन |


  दिदिहरुलाई  हजुरआमाको  यादले गाह्रो भयो होला जसरी मलाई पनि भइरहेको थियो | नवौ दिनमा  समवेदना प्रकट गर्नेहरूको  भीडभाड  अरु दिनको तुलनामा  बढीमात्रामा  थियो


दुःखको घडीमा उपस्थिति जनाउनु  हुने  सबैमा परिवारको तर्फबाट न्यानो आतिथ्यता प्रकट गर्न सायद  केहि अप्ठ्यारो भयो होला फुपू दिदीहरु  तेस्रो दिनदेखि  पाँचौं दिनसम्म  र मम्मीहरु पाँचौं दिनदेखि  बुवाहरु जस्तै गरेर  कुना  क्रिया बस्नुभयो


दसौं दिनमा  ढिकुरो फोरिसकेपछि गहत  खाएर नातिनातिना र  दाजुभाइका सदस्यहरुले  नुन खान हुने  चलनअनुसार मैले त्यसै दिन  देखि  नुन खान सुरु गरे | हाम्रो  हैसियतअनुसार  हामीले गर्नुपर्ने  कर्तव्यलाइ  कुनै पनि कुरामा  कम हुन नदिने गरी  १३ औं दिनको पुण्य तिथिमा  गर्नुपर्ने दानदक्षिणा म आफै  अग्रसर रही  सम्पूर्ण तयारी  पुरा भयो 


म आफै बिरामी परेकोले  १३ औं दिनको  कुनै पनि गतिविधिमा  आफूलाई  परिचालित गर्न सकिन | १३ औं दिनको विहान करिब ११  बजेको समय हुँदो हो माहिली फुपू  दिदी तलबाट माथि  निस्किएपछि  मेरो छेवैमा  बसेर  रुन लाग्नु भयो संगै  सानी दिदि  र ठूली दिदी पनि  आएर छेवैमा बस्नुभो |


माइली दिदीलाई  हजुर आमाको याद  अरुलाई भन्दा धेरै नै आयो होला  सायद  त्यसैले मन थाम्न सक्नु भएको थिएन | पूर्व सल्लाहअनुसार नै बुवा-मम्मिहरुले ४५  दिनको  दुख बोक्ने निधोसंगै २०७९|०४|३१ गते १३ औं दिनको पुण्यतिथिको काम  समयमै  सम्पन्न भयो |


 आखिर जन्म पछि मृत्यु  निश्चित नै छ | हजुरआमा आज तपाई  भौतिकरुपमा  हामी माझ हुनुहुन्न  तर पनि  तपाईंको माया अनि सम्झना  जीवन प्रयन्त यथावत रहनेछ तपाईंले दिनुभएको आशीर्वाद  हामीहरुलाई  सदा  मार्गदर्शन बन्नेछ


परिवारमा तपाईंको अभाव  सदा सर्बदा महसुस हुनेछ | हजुरआमा तपाईंको जीवन कर्मबाट  म आफु  असाध्यै प्रभावित छु जुन कुरा समाजले पनि मूल्याङ्कन गरेको रहेछ त्यसलाई आफूले सकेको  आत्मसाथ गरेर अगाडि बढ्नेछु


आउँदा दिनहरुमा  प्राप्त हुने सफलतामा  तपाईंको आशीर्वाद सम्झिने छु तपाई जुन लोकमा हुनुहुन्छ  हामीलाई  नजिकबाट  हेरी बस्नु होला हामीले तपाइँको असल  सन्तान बनेर  आफ्नो कर्म  पूरा गर्नेछौं


फेरि पनि हजुरआमा, सदा जसरी  हामीलाई माया  गरिरहनु हैशुभ आशिर्वाद  दिई राख्नु है | हजुरको बैकुण्ठ बासको  कामना |अलबिदा हजुरआमा |   

(मिति २०८९|०५|०९ काठमाण्डौ)

0 Comments:

Post a Comment